पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् नरेन्द्रमान लालचन । पोखराको सबैभन्दा पुरानो क्याम्पस तर जस्को आफ्नै भवन छैन । भवन नभएकै कारण धेरैलाई सुपथ एवं स्तरीय शैक्षिक सुविधा प्रदान गर्न नसकिएको यथार्थ स्वीकार्छन् अध्यक्ष लालचन । उनको भनाई छ– जग्गाको कारण क्याम्पसले भवन बनाउन नसकेको हो । जग्गा प्राप्त हुनासाथ भव्य क्याम्पस भवन बनाएर फेकल्टी थपिहाल्छौं । म यही प्रयोजनका लागि सञ्चालक समितिमा आएको हूँ । मेरो सम्पूर्ण ध्यान अहिले यसैमा केन्द्रित छ ।
कसरी यो संभव छ त भन्ने प्रश्नमा अध्यक्ष लालचन भन्दछन्– पोखरा बहुमुखी क्याम्पस सबै पाख्रेलीहरुको साझा सम्पत्ती हो । यसको संरक्षण संबद्र्धन गर्ने कार्य पोखराबासीहरुको । यो सँस्था स्थापना गर्न पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको थियो । ती संस्थाहरु यस क्याम्पसका प्रमुख संस्थापक मानिन्छ । तसर्थ स्थानीय निकाय पोखरा महानगरपालिका पोखरा उद्योग वाणिज्य संघबाट अवश्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै केन्द्र सरकार, प्रदेश सरकार, माननीय सांसदहरु र सरोकारवालाहरुसँग हामीले हार गुहार गरेर भवन निर्माण गर्ने विचार गरेका छौं । त्यस्तै क्याम्पससँग भएको आन्तरिक श्रोत र क्याम्पस संचालक समिति एवं परिवारबाटै सक्दो आर्थिक संकलन गरेर निर्माण कार्य सम्पन्न गरि छाड्ने हाम्रो लक्ष्य छ ।
पछिल्लो समयमा सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशिल छन्– समाजसेवी लालचन । ०७१/७२ सालदेखि बुद्ध जयन्ती मूल समारोह समिति पोखराका अध्यक्ष हुन् । ०६२/६३ सालबाट पतञ्जली योग समितिको केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशको समेत प्रभारी लालचनले योग दर्शनलाई गाउँघर कुना काप्चासम्म पु¥याउने काममा सक्रिय भएर लागे । यस अघि उनले हिमाली जिल्ला मुस्ताङको प्रभारी भएर त्यहाँ योगको प्रचार–प्रसार गरे । उनले दुई कार्यकाल सिद्धि–सेतुली स्मृति प्रतिष्ठानको अध्यक्ष भएर सेवा पु¥याए । जुन संस्थाले बाल शिक्षा तथा सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
वुवा पूर्णबहादुर लालचन र माता हिरा लालचनको कोखबाट स्याङ्जा जिल्लाको विरुवामा वि.सं. २००५ सालमा जन्मिएका लालचनले खासै उच्च शिक्षा भने हासिल गर्न भ्याएनन् । सानैदेखि व्यवसायमा लागेकाले व्यवसायिक अनुभव भने धेरै बटुलेका छन् । उनका हजुरबुवा तम्बा लालचन २००२ सालमा तत्कालीन ब्रिटिस सेना (पछि भारत) मा आबद्ध थिए । हजुरबुवा तम्बा निवृत्तिभरण पछि मार्फा गाउँ आउँदा त्यसबेला धेरै नगद बोकेर आए । उनले आफ्नो गाऊँ मार्फामा आई गाउँले भेला बोलाएर भने– म सँग भएको धनले सामाजिक कार्य गर्न चाहन्छु भन्नुस् म के बनाऊँ ? कुन क्षेत्रमा सहयोग गरुँ ?
गाउँलेहरुले भने– हामी गाउँलेहरु सरकारलाई तिरो तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका छौं । बरु यहाँले हामीले तिर्न बाँकी गोल तिरो तिरिदिएमा गाउँ छोड्न बाध्य हुनुपर्दैनथ्यो । त्यसबेला सवै गाउँलेले २४५ रुपैंया तिरो तिर्न पर्दथ्यो बर्षेनी ।
उनीहरुको कुरा सुनेर तम्बा लालचनले भने– म यस कार्यको लागि २ हजार ५ सय ५० रुपैंयाको अक्षयकोष बनाइदिन्छु । यस्को व्याजले समस्त गाउँकोे तिरो तिर्न पुग्छ ।
नभन्दै गाउँलेहरुको हितका लागि नगद रु. २५५० को कोष राखिदिए । गाउँलेहरु ढुक्क भए । सो नगद रकम गाउँलेहरुले खेलोका रुपमा लिए । व्यवसाय गर्ने शुभ अवसर पनि पाए । नयाँ नयाँ व्यवसाय सञ्चालन गर्ने अवसर जुर्यो । यसो हुँदा उनीहरुको जनजीवनमा सहजता आयो ।
यस घटनाले नरेन्द्रमान लालचन लाई पनि सामाजिक भावना जाग्यो । यसैको प्रेरणा स्वरुप सामाजिक कार्य गर्दै आएका छन् आज सम्म पनि । उनले सरल ध्यान विधि र बुद्ध बौद्ध र हामी भन्ने पुस्तक प्रकाशन गरेका छन् ।
समाजसेवी नरेन्द्रमान लालचनले वि.सं. २०२५/२६ सालतिर मार्फाको जनवाल माध्यमिक विद्यालयमा सचिव भएर सेवा पु-याए । जुन बेला उनी २० बर्षका युवा थिए । उनी ०४३÷४४ मा मार्फा थकाली समाजको अध्यक्ष हुन पुगे । उनको कार्यकालमा समाज भवन बन्यो । उनी पुनः २०६४÷६५ सालमा समाजको अध्यक्ष भई संस्थाको आर्थिक पक्षलाई सवल बनाए । २०६७ सालमा वडा नं. ९ विकास संघर्ष समितिको अध्यक्ष भएर उनले सार्वजनिक जग्गाको संरक्षण र खुल्ला चउरको आवश्यकता बारे सशक्त आन्दोलन गरेको थिए ।
मुस्ताङ जिल्ला मार्फा गाउँको ह्री सोम गोम्पो छोप्ली प्रतिष्ठानमा गरीब छात्र सहयोग समितिमा २०७१ सालदेखि आजसम्म अध्यक्षको रुपमा सेवारत छन्– लालचन । त्यस्तै लालचन महेन्द्रपुल, नयाँबजार टोल विकास संस्थाका अध्यक्ष हुन् । उनले सार्वजनिक स्थल संरक्षण लागि निकै संघर्ष गर्नुपरेको टोलबासीहरु बताउँछन् । बुद्ध जयन्ती मूल समारोह समितिले हरेक बर्ष बुद्ध जयन्ती पर्व भव्यतापूर्वक मनाउने गरेको छ ।
लालचन भन्दछन्– पोखरामा ‘बुद्धजयन्ती समारोह समिति’ स्थापना हुनु अगाडिको पृष्ठभूमि पनि महत्वपूर्ण मान्न सकिन्छ । वि.सं. २०१८ सालदेखि पोखरामा बुद्ध जयन्ति मनाउन शुरु गरेको भन्ने मैले सुनेको थिएँ । दोस्रो महापरित्राणदेखि नै धर्मशीला बुद्धविहारको अगुवाइमा हुने गरेका गुरुपूर्णिमाको दिन आयोजना गरिने धर्मचक्र पवर्तन दिवस सामूहिक सहभागिताको परम्परा बसिसकेको थियो । वि.सं. २०५२/५३ तिर वैशाख पूर्णिमाको सेरोफेरो, ‘बुद्धजयन्ती’ मनाउने क्रमको सामूहिक तयारी भेलामा ‘बुद्धजयन्ती समारोहलाई धर्मशिला बुद्धविहार भित्र सिमित नराखेर समस्त बौद्धमार्गीलाई समेटेर बौद्धपरम्परा अनुसार सामूहिक पर्वका रूपमा मनाइनुपर्छ’ भन्ने धारणा बनिसकेको थियो । यस्तो अवस्थामा बौद्धमार्गीहरू बीच आध्यात्मिक एकता र बुद्धशिक्षाको प्रचार प्रसारका लागि संगठनात्मक एकता र छाता संगठनको आवश्यकता महसुस र परिकल्पना गरिनु स्वाभाविक थियो । वि.सं. २०६० मा स्व. भिक्षु श्रद्धानन्दको संयोजकत्वमा ‘बुद्धजयन्ती मूल समारोह समिति’ गठन गरी वि.सं. २०६१ को २५४८ औं बुद्धजयन्ती कार्यक्रम सामूहिक रूपमा मनाइएको थियो । यहीँबाट पोखरामा सामूहिक रूपमा बुद्धजयन्ती मनाउने परम्पराको थालनी भएको इतिहास लालचन बताउँछन् ।
वि.सं. २०६४/६५ सालबाट बुद्धजयन्ती समारोह विशुद्ध बौद्ध धार्मिक परम्पराअनुरूप मनाउने अठोटका साथ दीपेन्द्र सभागृह (हाल पोखरा सभागृह) मा भएका दुई कार्यक्रममा लामाहरू र तिब्बती शरणार्थी बौद्धमार्गीहरूले अथक सीप, जाँगर, श्रद्धा र परिश्रमका साथ बौद्ध संस्कृति झल्कने गरी स्टेज सजावटका लागि खटिए । उनीहरुको बुद्ध, धर्म र संस्कृति प्रतिको श्रद्धा, लगन र आस्थाप्रति आफू नतमस्तक पनि भएको लालचन बताउछन् ।
वि.सं. २०६६/२०६७ अर्थात् २५५३ औं र २५५४ औं बुद्धजयन्तीको कार्यकालमा ३ वटा नवीनतम कार्य भएको उनले थप जानकारी दिए ।
पहिलो थियो– महापरिनिर्वाण दिवसलाई जसरी ‘बुद्धजयन्ती’ भनेर मनाइँदै आइरहेकोमा त्यस परम्परालाई परिमार्जित गरी वैशाख पूर्णिमाका दिन भगवान् गौतम बुद्धको जन्म, बुद्धत्वप्राप्ति र महापरिनिर्वाण दिवस परेको हुँदा तीनवटै तिथि राखेर ‘वैशाख पूर्णिमा, बुद्धजयन्ती’ मनाउने परम्पराको थालनी गरियो ।
‘बुद्धजयन्ती’ लाई विशुद्ध आध्यात्मिक पर्वका रूपमा मनाउने प्रयास गरियो । यसका साथै बौद्ध संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको उनले थप जानकारी दिए । उनीहरुले बौद्ध धर्ममा विशेष योगदान दिएका र बौद्ध संघ संस्था एवम् व्यक्तिलाई सदस्य बनाएर बुद्धजयन्ती समारोह समितिको कोष जम्मा गर्ने कार्यको थालनी गर्यो । त्यसबेला बाँकी रकम पनि सङ्कलन हुन गयो । साथै वि.सं. २०६४ बाट पोखराको बौद्ध गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आइरहनु भएका २ जना व्यक्तित्वलाई सम्मान गर्ने परम्पराका लागि ‘सम्मानित व्यक्तित्व छनौट निर्देशिका’ तयार गर्ने काम यसै कार्यकालमा भएको थियो । सम्मानको क्रममा वि.सं. २०६४ मा बिलबहादुर गुरुङ र तिलकमान गुभाजू पहिलोपटक सम्मानित भए । समितिले वि.सं. २०६५ मा प्रज्ञारत्न बज्राचार्य र श्रीमती अकला गुरुङलाई सम्मानित गरिएको थियो । २०६६ मा हरिध्वज तुलाचन र सोनम साङ्पो सम्मानित भए भने वि.सं. २०६७ मा श्रीमती पञ्चकुमारी गुरुङ र गोविन्द ताम्राकार । त्यस्तै, २०६८ सालमा कुमबहादुर तामाङ र छुत्याल गुरुङ, २०६९ सालमा विश्वरत्न शाक्य, २०७० सालमा कृष्णमान गुभाजू र २०७१ सालमा उत्तममान बुद्धाचार्य सम्मानित भए । २०७२ सालमा टिबि पुन मगर थिए । २०७३ सालमा शंकर गुरुङ सम्मानित हुनु भएको लालचन बताउँछन् । २०७४ सालमा श्रीमती चन्द्रलक्ष्मी गुभाजू ०७५ सालमा श्रीमती माया गुरुङ र टेकबहादुर गुरुङ ०७६ सालमा मेजर ईश्वरीलाल हिराचन सम्मानित हुनुभएको लालचनको संझना छ । ०७७ सालमा भने विश्वव्यापी कोरोना महामारीका कारण बुद्ध जयन्ती कार्यक्रम स्थगित गर्नुपरेकोमा उनलाई साह्रै दुःख लागेको छ ।
लालचनले धेरै बर्ष ठेक्का पट्टाको काम गरे । उनी ‘क’ वर्गका ठेकेदार थिए । उनको नरेन्द्र निर्माण सेवा निकै लोकप्रिय थियो । स्तरिय निर्माण कार्यका कारण लालचनको स्वच्छ छवी बन्न पुग्यो । उनले धेरै बर्ष महेन्द्रपुलमा सनराइज होटल चलाए । जुन होटल जमानामा लोकप्रिय र फेमस थियो ।
सरल, मिलनसार स्वभावका लालचन कसैसँग झै–झगडा, विवाद गर्न चाहन्नन् । उनले भगवान बुद्धले भनेझैँ मध्यममार्ग अपनाउँछन् । उनीले जे जिम्मेवारी पाउँछन् त्यसलाई पूर्ण गराउने तर्फ लागि पर्छन् । यस अर्थमा उनी सच्चा कर्मयोगी हुन् । कर्म गर्छन् तर फलको कुनै आशा राख्दैनन् । उनले चीन, भारत, श्रीलङ्का, अरब, थाइल्याण्ड, अमेरिका, सिंगापुर, हङ्गकङ्ग आदि देशको भ्रमण गरेका छन् । हाल उनका २ सुपुत्र छन् ।
उनको योगदानको कदरस्वरुप सनातन धर्म सेवा समिति लगायत थुप्रै संघ संस्थाले कदर–पत्र प्रदान गरेको छ । उनी बाँकी जीवन यस्तै सामाजिक, धार्मिक क्षेत्रमा विताउन चाहन्छन् ।
उनको एउटै सपना छ– गरीब एवं निमुखाहरुका सन्तान पढ्ने पोखरा बहुमुखी क्याम्पसको भवन बनाउने । यसका लागि अहिले उनी सक्रिय भएर लागेका छन् । हालैमात्र पोखरा नगर विकास समितिबाट क्याम्पसलाई भवन बनाउन पोखरा वडा न. ९ शान्ति वन वाटिका नेर करिब ४ रोपनी जग्गा उपलब्ध गराईकोमा उनी सबैलाई धन्यवाद दिन चाहन्छन् । यही असार १० गते पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सी. द्वारा शिलान्यास हुने जानकारी उनले गराएका छन् । करिब ४ करोडको लागतमा सो भवन तयार हुने लालचन बताउँछन् । यसका लागि क्याम्पस परिवार, विभिन्न चन्दादाताहरु, स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, त्रिभुवन विश्वविद्यालय, विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरुबाट सहयोग लिएर भवन सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । भवन निर्माण पश्चात् रोजगारी एवं सिर्जनामूलक नयाँ नयाँ संकायहरु पनि थप्दै जाने लक्ष्य रहेको वताउँदै लालचनले भने– सुपथ मूल्यमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिए क्याम्पसको भविष्य पक्कै राम्रो हुन्छ ।
पोखरा बहुमुखी क्याम्पस आजभन्दा करिब ३४ बर्ष पहिले स्थापना भएको थियो । यस क्याम्पसबाट करिब पचास हजार विद्यार्थी तयार भैसकेका छन् । उनीहरु अहिले देशका सर्वोच्च निकाय पदमा कार्यरत छन् भने कैयौं डाक्टर, इन्जिनियर समेत बनेका छन् । कतिपय विद्यार्थीहरु विश्वका सम्पन्न देशमा पुगेका छन् । यो क्याम्पस भवन बनाउन सायद भू.पू. विद्यार्थीहरुले पनि सहयोग गर्नेछन् । लालचनले भने– कतिपय मित्रहरुले आफूलाई क्याम्पस भवन कहिले बन्छ भनेर सोध्ने गरेको र सक्दो सहयोग गर्ने वचन दिएका छन् । यसर्थ क्याम्पस बनाउनको लागि पैसाको दुःख होला जस्तो लाग्दैन ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!



0 Comments